FAQs Complain Problems

संक्षिप्त परिचय

काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरु (साविक गा.वि.स.: झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु समेटी यस टोखा नगरपालिकाको वि.सं. २०७१ मार्ग १६ गते गठन भएको हो । प्राचिन वैज्ञानिक वस्ती व्यवस्थापन भएको ऐतिहासिक शहर (वडा नं. २ र ३ वडाहरु) समेत यसै क्षेत्रमा रहेको छ । यस नगरपालिकाको पूर्वमा बुढानिलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिकाको वडा नं. ३ र २६ पर्दछ । ११ वटा वडा रहेको यो नगरपालिका २७ डिग्री ४३ मिनेट १९ सेकेन्ड उत्तरी अक्षांश देखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तर देखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म रही उत्तर दक्षिण लामो र पूर्व पश्चिम केही साँघुरो प्रकृतिको आकार भई शिवपुरी जंगलको छत्रछायाँमा १७.११ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ । यस नगरपालिका भित्र बहुजाति र बहु भाषिक गरी कुल जनसंख्या १,३३,७५५ मा पुरुष ६६,५३२ र महिला ६७,२२३ जनाको बसोबास रहेको छ । यसमा कुल साक्षरता दर सरदर ९१ प्रतिशत रहेको छ भने यस नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा झोरमहाँकालको वौडेश्वर महादेव, टोखा चण्डेश्वरीको चण्डेश्वरी र सपनतिर्थ मन्दिर, टोखा सरस्वतीको भुतखेल चौर र मसानकली मन्दिर, धापासीको वसुन्धरादेवी, गोंगवुको मनोरथ तिर्थस्थल र बिच विनायक मन्दिर प्रमुख रुपमा रहेका छन् । यस क्षेत्र भएर बग्ने प्रमुख नदीहरुमा विष्णुमति, साङ्गले खोला र सपनातिर्थ मुख्य रुपमा रहेका छन् । त्यसैगरि, मुख्य पोखरीहरुमा सरस्वती गहना पोखरी, गणेशपोखरी, सपना तिर्थ र स्नान कुण्ड मुख्य रुपमा रहेका छन् । यस नगरपालिका क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त ग्राण्डी अस्पताल, देउराली जनता फर्मा स्युटिकल प्रा.लि. आदि समेत पर्दछन भने ९ वटा सामुदायिक विद्यालय, ८१ वटा संस्थागत विद्यालय, ३ वटा वैकल्पिक विद्यालय, ३ वटा सामुदायिक सिकाइ केन्द्र सहित शिशु स्याहार केन्द्र देखि उच्च शिक्षा अध्ययन गराउने कलेजहरु समेत रहेका छन् । यस नगरपालिकामा १ वटा प्रादेशिक अस्पताल र ४ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य केन्द्र र १ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् भने १११ वटा सहकारी संस्थाहरु रहेका छन् ।